काठमाडौं । कोदो बालीको संरक्षणमा सरोकारवालाहरूले जोड दिएका छन् । प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै वक्ताहरूले कोदो नेपालका लागि महत्त्वपूर्ण बाली भएको बताए । नेपाल कोदो तथा फापर संघको आयोजना, कृषि उद्यम केन्द्र, आर एण्ड डि इनोभेटिभ सोलुसन प्रा ली र एफ ए वो लगायतका संघ संस्थाको सहआयोजनामा शुक्रबार कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमै कोदो उत्पादन बढाएर आयात घटाउनु पर्ने बताए । नेपालको सबै पहाडी क्षेत्रमा कोदो उत्पादन हुने गरेको बताउँदै उनले कोदो प्रवर्द्धनमा जोड दिए ।
नेपाल कोदो तथा फापर संघका अध्यक्ष एवं कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेतको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कोदो संघ पनि महासंघको सदस्य बनेको र महासंघले पनि कोदो प्रवर्द्धनमा भूमिका खेल्ने बताए ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्यहरु, वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु, संघका पदाधिकारी एवं सदस्यहरु लगायतले कोदोको संरषणबारे आ–आफ्नो धारणा राखेका थिए ।
विभिन्न कृषि क्याम्पसका शिक्षक एवं विद्यार्थीहरुको समेत कार्यक्रममा उपस्थिति थियो । कार्यक्रम स्थलमा कोदोका विभिन्न उत्पादन प्रदर्शनी गरिएको थियो ।
कार्यक्रममा कृषि उद्यम केन्द्रका प्रमुख कार्यकारी अधिकृत दीपन्द्र जोशी र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उठेका जिज्ञासा माथि प्रकाश पार्दै कोदो संघ अध्यक्ष डिबि बस्नेतले कोदो संरक्षणको मुख्य उद्देश्यले संघ स्थापना भएको बताए । कोदो उत्पादन बढाउने, बाहिर निर्यात गर्ने, उपभोग बढाउने, व्यवसाय बिस्तार गर्ने, उद्योग स्थापना गर्ने लगायतका विविध सुझाव कार्यक्रममा सहभागीहरूले दिएका छन् ।
कार्यक्रममा कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्कीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमबारे प्रस्ट्याउने काम कृषि उद्यम केन्द्रका बोर्ड सदस्य सुनिता न्यमाफुकीले गरेकी थिइन्।
‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ मूल नारासहित मनाइएको कार्यक्रमको सञ्चालन उद्यम केन्द्रका सदस्य प्रल्हाद दाहालले गरेका थिए ।
कृषि मन्त्रालयको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८०÷८१ मा २ लाख २४ हजार ९३५ हेक्टरमा कोदोजन्य बाली खेती भएको थियो । ३ लाख ७ सय ३२ मेट्रिक टन कोदो उत्पादन भएको तथ्यांक छ ।
देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने कृषि विभागको भनाइ छ ।
कृषि विभागका अनुसार गएको आर्थिक वर्षमा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको छ ।
पानी नपरेर धान रोपाइँ हुन नसकेको मधेशलगायतका ठाउँमा वैकल्पिक बालीको रुपमा कोदो खेती गर्न सकिने विज्ञहरुको भनाइ छ ।
राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) का प्रमुख डा.बालकृष्ण जोशीका अनुसार सुक्खा क्षेत्रमा अब कोदोजन्य बाली विकल्प हुन सक्छ । तर धेरै किसानले एकैपटक समस्या भोगेकाले यी वैकल्पिक बालीको बीउ अभाव हुने देखिन्छ ।
कोदोजन्य बालीअन्तर्गतका कोदो, चिनो, कागुनो, सामा, जुनेलो, धानकोदोलगायतको विस्तार गरी खेती बढाउन सकेमा खाद्य सुरक्षाको आधार बन्ने विज्ञहरु बताउँछन् ।
यसले खाद्य सुरक्षासँगै स्वास्थ्य सुरक्षा, पोषण सुरक्षा, वातावरण सुरक्षालगायतमा पनि टेवा पुर्याउँछ ।
कम पानी, थोरै मल, कम मेहनतमा पनि सहजै र देशैभर उत्पादन गर्न सकिने कोदोजन्य बालीको उत्पादन बढाउन दिवसको एक दिन मात्र नभएर अब अभियानकै रुपमा कार्यक्रम लैजानुपर्नेमा विज्ञहरुले जोड दिँदै आएका छन् ।
प्रतिक्रिया